विश्व

हतियार उन्मादले विश्वव्यापी विनासः पुटिन

चीन, २१ भदौ ।  रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँग जोडेर भइरहेको ’सैन्य उन्माद’ ले विश्वव्यापी विनाश निम्त्याउने चेतावनी दिएका छन् । चीनमा ब्रिक्स सम्मेलनपछि सञ्चारकर्मीसँग बोल्दै उनले प्योङ्याङ्विरुद्ध थप आर्थिक प्रतिबन्ध लगाउनु व्यर्थ हुने भन्दै यस बिषयमा सम्बन्धित सवै पक्षले वार्ताका लागि सम्भावित पहल गर्नुपर्ने बताए  । उनले कुटनीति एक मात्र जवाफ (समाधान) रहेको बताए ।

संयुक्त राष्ट्रसंघमा कडा प्रतिबन्ध सहितको नयाँ प्रस्ताव प्रस्तुत गर्ने संयुक्त राज्य अमेरिकाको भनाइसँगै रसियाले भने उत्तर कोरिया विरुद्ध गरिने सैनिक कारबाहीले समस्यालाई थप चुनौतिपूर्ण बनाउनसक्ने बताएको हो ।

यसबीच राष्ट्रसंघका निम्ति उत्तर कोरियाका राजदूत हान ते सङ्ले प्योङयाङले हालै गरेका परमाणु तथा क्षेप्यास्त्र परीक्षण अमेरिकाको निम्ति उपहार भएको बताएका हुन् ।

वाशिङ्गटनले प्योङ्याङ्माथि दबाब दिने ’व्यर्थका प्रयास तथा जोखिमपूर्ण उक्साहट’ गर्न नछाडे आफ्नो देशले थप परीक्षण गर्ने उत्तर कोरियाली राजदूतको प्रतिक्रिया थियो ।