विश्व

हाइड्रोजन बमको कम्पन चीनसम्म, संसारभर तरंग !

कोरिया, १९ भदौ । अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसंघको बारम्बारको चेतावनीको समेत बेवस्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको उत्तर कोरियाले आइतबार पनि एक शक्तिशाली आणविक परीक्षण गरेको समाचार छ ।
यस समाचारलाई संसारका समाचार समितिहरुले आइतबार बिहानदेखि नै निकै प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । उनीहरुले यो घटनाबाट संसारमा नयाँ र ठूलो हलचल पैदा भएको टिप्पणी पनि  समाचारमा गरेका छन् ।  
यस परीक्षणको उत्तरले भने प्रारम्भिक रुपमा कुनै जानकारी दिएको थिएन । त्यो के कस्तो बम हो र यसको शक्ति कति हो भन्ने बारेमा उसले कुनै पुष्टी गरेको थिएन । 
तर पनि सो परीक्षणका कारण उत्पन्न कम्पनले गर्दा यस कुराको पुष्टी भएको छिमेकी देशहरुले बताएका छन् । परीक्षणस्थल र अन्य छिमेकी देशमा पनि यसको कम्पन आएको उनीहरुको भनाई छ ।
त्यस लगत्तै उत्तरले उक्त परीक्षण हाइड्रोजन बम भएको सङ्केत गरेको थियो । उत्तरको आधिकारिक समाचारमा सो परीक्षण सफल भएको भनिएको छ ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमहरुले उत्तर कोरियाले आइतबार बिहान हानेको हाइड्रोजन बम शक्तिशाली र सफल पनि भएको जनाएका छन् । उत्तर कोरियाली सञ्चारमाध्यमहरुले यहाँका नेतालाई उद्धरण नगरी उक्त परीक्षण सफल भएको जनाएका हुन् ।
उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ । केही समयमात्र अघि पनि उसले अन्तरमहादशीय क्षेप्यास्त्र हानेको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको बताइएको थियो ।  
उत्तर कोरियाका छिमेकी देशहरु दक्षिण कोरिया र जापानले सो परीक्षणको पुष्टी भएको नै बताएका छन् भने चीनले पनि उक्त क्षेत्रमा आएको कम्पन सोही परीक्षणको कारण हुनसक्ने बताएको छ । 
उत्तर कोरियाले क्षेप्यास्त्रहरु निर्माण गर्ने गरेको क्षेत्रमा कम्तीमा पनि छ म्याग्निच्युड हाराहारीको कम्पन आएको जनाएको छ । तर उत्तर कोरियाले भने यस विष्यामा कुनै प्रतिक्रिया दिएको छैन । 
यस परीक्षणलाई यसअघिको भन्दा करिब दश गुणा धेरै शक्तिशाली रहेको दक्षिण कोरियाले बताएको छ । उसले भनेको छ, उत्तर कोरियाले यसअघि गरेको पाँचौ पटकको परीक्षणभन्दा यो कम्तीमा पनि दश गुणा बढी शक्तिशाली छ । साथै दक्षिण कोरियाली विज्ञहरुले यस पटकको यो परीक्षणका कारण उक्त क्षेत्रमा ५.६ म्याग्निच्युडको कम्पन मापन गरिएको जनाएको छ । यो परीक्षण हाइड्रोजन बमको परीक्षण भएको हुनसक्ने अनुमान पनि दक्षिण कोरियाली बिज्ञहरुले गरेका छन् ।
उत्तर कोरियाली नेताले आइतबार हाइड्रोजन बम निर्माणस्थलको निरीक्षण गरेएको समाचार आएको थियो । त्यस लगत्तै यो कम्पन आएकोले सोही समयमा नै हाइड्रोजन सहितको क्षेप्यास्त्र परीक्षण गरिएको हुनसक्ने अनुमान गरिएको बताइएको हो ।
यस परीक्षणको कम्पनपछि प्रतिक्रिया दिँदै जापानी प्रधानमन्त्री सिन्जो अबेले भनेका छन् यो परीक्षण निकै नै शक्तिशाली छ यस्ता क्रियाकलापहरु जापानका लागि अत्यन्तै अस्वीकार्य छन् । 
उत्तर कोरियाले पछिल्लो पटक गरेको यो परीक्षणका कारण संसारमा नै नयाँ हलचल पैदा भएको छ । संसारका नेताहरुले उत्तर कोरियाको यो परीक्षणले शान्तिपूर्ण समाधान भन्दा पनि संसारमा नै हतियार र शक्तिको दम्भ सुरु हुने चिन्ता व्यक्त गरेका छन् ।  
उत्तर कोरियाले क्षेप्यास्त्रका विरुद्ध जापानको उजुरी
उता जापानले भने उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको पुष्टी गरेको छ । जापानले आइतबार बिहान उत्तर कोरियाले यस्तो शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको पुष्टी भएको दाबी गरेको छ । यो पुष्टीसँगै जापानले यस्तो परीक्षणको औपचारिक रुपमा विरोध पनि जनाएको छ । बारम्बार उत्तर कोरियाको यो हदसम्मको हर्कत कदापि मान्य नहुने पनि उसले दाबी गरेको छ । 
जापानका विदेशमन्त्री तारो कानोले भने, ‘जापान सरकारले आवश्यक विभिन्न सूचनाहरु संकलन गरेर र आवश्यक अनुसन्धान गरेर सो आणविक परीक्षण गरेको पुष्टी गरेको छ ।’
जापान सरकारले पनि मौसमसम्बन्धी र भौगार्भिक सर्वेक्षणबाट यससम्बन्धी सूचना लिएको थियो । प्राप्त सूचनामा यी निकायबाट प्राप्त जानकारी अनुसार उत्तर कोरियाले आणविक परीक्षण गरेकै कारण पृथ्वीमा कम्पन आएको पाइएको जापानले जनाएको थियो ।
जापानले चीनमा रहेको उत्तर कोरियाको दूताबासमा यस्तो विरोधपत्र पनि दर्ता गराएको छ । सो विरोधपत्रमा यस्तो क्षेप्यास्त्र परीक्षणको त्रास र यसबाट उत्पन्न परिस्थिति कुनैपनि हालतमा क्षम्य नहुने जिकीर पनि गरिएको छ । 
उत्तर कोरियाले हालैमात्र पनि जापानको समुद्रमा पर्नेगरी एक मिसाइल हानेको थियो । जसका कारण जापानले गम्भीर रुपमा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको भन्दै उत्तर कोरियामाथि कडा भन्दा कडा कारबाही गर्न माग गरेको थियो ।
त्यसयता पनि उत्तर कोरियाले कुनै पश्चाताप महसुश गरेको छैन । बरु उसले अन्तर महादेशीय मिसाइल बनाउन सकेकोमा गर्वको महसुश गरेको छ ।   
उत्तर कोरियाले गर्यो हाइड्रोजन बम बनाएको दाबी
यसैबीच एक अर्को समाचारअनुसार उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र मार्फत हान्न मिल्ने खालको एक अत्याधुनिक हाइड्रोजन बम बनाएको बताएको छ । 
यस्तो बमको विकास गरेको उत्तर कोरियाले बताएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले उत्तर कोरियाका नेता किम जोङ उनले यस्तो खालको हतियार निर्माणस्थल र हतियार नै निरीक्षण गरेको जानकारी दिएको छ ।
आइतबार बिहान उनले यस्तो बमको नै निरीक्षण गरेका थिए । तर उक्त बमको तस्बिर भने अझसम्म सार्वजनिक नगरिएको प्राप्त समाचारमा जनाइएको छ ।
पश्चिमा देशहरुले भने ब्यालेस्टिक क्षेप्यास्त्रमा प्रयोग गर्न मिल्नेगरी उत्तर कोरियाले परमाणुसँग सम्बन्धित उपकरणहरु निर्माण गर्नसक्ने गरी प्रविधिको विकास गर्ने बारेमा आशङ्का व्यक्त गर्दै आएका छन् । 
त्यस स्तरको प्रविधि उक्त देशले बिकास गर्न सकेको भन्नेमा उनीहरुको विश्वास कम रहेको बताइन्छ । हालैमात्र उत्तर कोरियाले एउटा मध्यम दुरीको क्षेप्यास्त्र उत्तरी जापानतर्फ प्रहार गरेको थियो ।