न्युयोर्क

न्यूयोर्क महापुराणमा भक्तजनको ओईरो, दुई लाख डलर संकलन

न्यूयोर्क । रिजउड नेपाली समाज न्युयोर्कको आयोजनामा सत्यनारयण मन्दिर ज्याक्सनहाइटमा बुधबारदेखि जारी महापुराणमा भक्तजनहरुको भीड बढिरहेको छ । 
महापुराण बाचन प्रबीण दिनबन्धु पोख्रेलले बाचन गरिरहनु भएको छ । त्यस्तै यम बराल, सपना श्री, राम सिहं, राजकपुर लगायतका कलाकारहरुले बाचन प्रबीण पोख्रेलको भजनलाई साथ दिईरहेका छन् । महापुराणमा हिन्दु धर्मावलम्बी नेपाली एवं नेपाली भाषी समुदायको बाक्लो उपस्थिति रहेको आयोजकले जनाएका छन् । 
न्युयोर्कमा दुर्गा मन्दिर एबं सामुदायिक भबन निर्माणका लागि दश लाख अमेरिकी डलर सकंलन गर्ने उद्देश्यसहित आयोजना गरिएको महापुराण एक साता सम्म चल्नेछ । महापुराणमा दाताहरुले दान गर्ने क्रम पनि बाक्लिएको छ । तेश्रो दिनसम्ममा दुई लाख ८ हजार ९९ डलर ०४ सेन्स रकमको प्रतिबद्धता आईसकेको संस्थाका अध्यक्ष कोईरालाले जानकारी दिनुभयो । महापुराणको पहिलो दिन २० हजार, दोश्रो दिन एक लाख ४३ हजार र तेश्रो दिन ४४ हजार डलरको प्रतिबद्धता आएको थियो भने दाताहरुको संख्या बढ्ने क्रम जारी रहेको आयोजकले जनाएका छन् । कार्यक्रममा न्यूयोर्क, न्यूजर्सी, कनेक्टीकटलगायतका राज्यहरुबाट भक्तालुहरुको उपस्थिति हुने आयोजकले अपेक्षा गरेका छन् । 
अमेरिकामा नेपालीहरुको उपस्थिति बढ्दै गएको अवस्थामा नेपाली कला, संस्कृति र परम्परा रक्षाका लागि सांस्कृतिक केन्द्रको आवश्यकता रहेको भन्दै त्यसको निर्माणार्थ आर्थिक संकलनका लागि महापुराण आयोजना गरिएको संस्थाका अध्यक्ष रवि किरण कोईरालाले जानकारी दिनुभयो । मन्दिर र केन्द्र निर्माणले दोश्रो पुस्ताका लागि पनि नेपाली संस्कृति हस्तान्तरणमा उल्लेख्य टेवा पुग्ने उहाँको भनाई छ । 
संस्थाले यस अघि पनि दाताहरुसँगबाट सहयोग संकलन गरी मन्दिर तथा केन्द्रका लागि जग्गा खरिद गरिसकेको छ । महायज्ञमा पूर्व दाताहरुका साथ विभिन्न साना साना दाताहरुबाट सयोग रकम संकलन हुने अध्यक्ष कोईरालाले जानकारी दिनु भयो । संस्थाले सानो सानो रकमबाट पनि आफ्नो लक्ष्य अनुसारको सहयोग रकम संकलन हुने अपेक्षा गरेको छ ।