चलचित्र

चलचित्र ‘२ रुपैयाँ’को रोचक तथ्य खुलासा

काठमाडौं, ७ भदौ । भाद्र २३ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘२ रुपैयाँ’को विषयमा निर्माण पक्षले निर्माण गर्दाका केही रोचक कुराहरु खुलाएको छ । झण्डै चार वर्ष अघि २०७० मा ‘कर्कश’ फिल्मको प्रदर्शनको लगत्तै कलाकार आशिफ शाहले ‘२ रुपैयाँ’ को खाका तयार पारेको जनाएका हुन् । 
नेपालको तराइ भूभागमा कम रकमको नोटको पृथक नम्बरलाई प्रयोग गरी कारोबार गरिने कुरा शाहले सानै उमेरदेखि नै सुन्दै आएका थिए । त्यही तरिकालाई कथामा गाँसेर एउटा हास्यप्रधान फिल्म बनाउँदा कस्तो होला भनेर उनले आफ्ना भाइ तथा फिल्मका निर्देशक असिम शाहसँग सल्लाह गरे । असिम शाहले यस्तो कथामा रोमान्स र द्वन्द्व उत्कृष्ट रूपले देखाउन सकिने कुरामा विश्वास राखेपछि ‘२ रुपैयाँ’ को लेखन कार्य सुरु भएको निर्माण पक्षले जनाएको हो । 
कलाकार बुद्धि तामाङ र विशेष भूमिकामा देखिएकी अभिनेत्री स्वस्तिमा खड्का यो फिल्मसँग आबद्ध हुनुको पनि आफ्नै छुट्टै रोचक प्रसङ्ग छ । बुद्धि तामाङ भने– ‘आशिफजीले कथा सुनाउन्जेल पनि म आफू कुन चैँ भूमिकामा ठीक हुन्छु होला त भन्ने कुरा सोच्दै थिएँ । कथा भन्दै जानुभो, म सुन्दै गए । कथा साह्रै नै मजा लाग्यो । अनि आफैँ प्रश्न गरेँ– के मैले असईको भूमिका गर्ने हो ।’ 
‘यसलाइ सेल्फ–पी भन्छ मोरा, खुर्रर जाएगा, खुर्रर आएका, थरि–थरिका दाह्री, आइ लभ स्याम्पु’ । अहिले यी संवादहरुको राम्रै चर्चा भैरहेको छ । यो संवाद चलचित्र ‘२ रुपैयाँ’मा समावेश छन् । यो फिल्मलाइ कलाकार तथा निर्देशक निश्चल बस्नेतको निर्माण कम्पनी ब्ल्याक हर्सले पनि निर्माणमा सहकार्य गरेको छ । फिल्म ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु’ बोलको गीत अहिले निकै चर्चामा छ । युट्युबमा सार्वजनिक गरिएको छोटो समयमा करोड भ्यू पाएको ‘कुटुमा कुटु’सँगै फिल्मको दोस्रो गीत ‘टल्क्यो जवानी’ र ट्रेलरलाई पनि अहिले निकै रुचाइएको छ । ट्रेलरमा समावेश केही संवादहरु अहिले दर्शकहरुको जिब्रोमा खुबै झुण्डिरहेको छ ।