मनोरंजन

भलिबल कोर्टदेखि चलचित्रसम्म सफल सिपोरा

काठमाडौं, भदौ । भलिबल खेलबाट नाम स्थापित बनाउन सफल सिपोरा गुरुङले चलचित्रबाट पनि उत्तिकै सम्भावना देखाएकी छन् । राम्रो सट हानेर बेस्ट स्पाइकरको रूपमा खेल प्रेमीमाझ पहिचान बनाएकी सिपोरा अहिले चलचित्र क्षेत्रमा चम्किएकी छन् । 

नेपालका तर्फबाट सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय खेलकुदमा भाग लिएर पदक जितेकी सिपोरा २०६७ सालको पपुलर प्लेयर अफ दी इयर उपाधि विजेता हुन् । उनले ‘द घलेक–द साइन अफ लभ’ र ‘यम्फावती द प्रिन्सेस’ फिल्ममा समेत अभिनय गरिसकेकी छिन् । उनी मिस नेपाल प्रतियोगिता–२०१३ की प्रतिस्पर्धी समेत हुन् । 

अहिले सिपोरा अभिनित चलचित्र ‘भूईँमान्छे’ प्रदर्शन भइरहेको छ । उक्त चलचित्रबाट सिपोराले अभिनयमा पनि राम्रो संभावना देखाएकी हुन् । ‘भूईमान्छे’को सबैभन्दा बलियो पक्षमध्ये सिपोराको अभिनय पनि एक भएको दर्शकले प्रतिक्रिया दिएका छन् । शव चिर्ने एक व्यक्तिको मनोविज्ञान प्रस्तुत गरिएको फिल्म ‘भूईँमान्छे’मा सिपोराको अभिनयको अहिले राम्रै तारिफ भैरहेको छ । ‘भूईँमान्छे’ हेर्नेले उनको अभिनयको तारिफ गरेका छन् । 

डाक्टर पढ्न राजनीतिक सोसफोर्सको अभावका कारण नसकेपछि लास चिर्ने पेशा गर्दै आएको एक व्यक्ति र उसको दैनिकीसँग यो चलचित्र जोडिएको छ । लास चिर्ने पेशामा काम गर्ने एक अधवैशे पुरुष र उसको छिमेकी यूवतीविचको प्रेम, भावनाको कथालाइ निर्देशकले निकै रोचक कथामा बुनेका छन् । चलचित्रको कथावस्तु भिन्न भएकाले पनि चलचित्रलाई दर्शकको साथ पाएको हुनसक्छ । कलाकार रमेश वुढाथोकीले चलचित्रमा बेजोड अभिनय गरेका छन् । रमेशको करिअरकै केही उत्कृष्ट चलचित्रमध्ये यो एउटा पनि पर्ने पक्का छ । 

त्यसो त चलचित्र क्षेत्रमा वर्षेनी धेरै नौला अनुहारको प्रवेश हुन्छन् । कोही आफ्नो उद्देश्य अनुरुप अघि बढ्छन् भने कोही कसरी आए कसरी गए अत्तोपत्तो हुँदैन । कला क्षेत्रमा स्थापित हुनको लागि सबैभन्दा पहिलो पक्ष भनेको अब्बल अभिनय नै हो । जुन कुरा चलचित्र भुइँमान्छेमार्फत सिपोराले दर्शकमाझ देखाएकी छन् ।