समाचार

इमर्जेन्सीमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी पुरस्कृत

बलराम प्यासी

ललितपुर, ५ भदौ । राजधानीलगायत मुलुकका विभिन्न अस्पतालको आकस्मिक कक्षमा कार्यरत रहेर आपत्कालीन परिस्थतिमा सरल रुपमा स्वास्थ्य सेवा दिँदै आएकामध्ये उत्कृष्ट चिकित्सक, स्वास्थ्यकर्मी र नर्सलाई पुरस्कृत गरिएको छ । 
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको इमर्जेन्सी विभागका  सहायक प्राध्यापक डा.रमेश महर्जनद्धारा १० वर्षअघि स्थापित ‘नेपाल डिजास्टर एण्ड इमर्जेन्सी मेडिसिन सेण्टर’ (नादेम) को १० औं वार्षिकोत्सवको अवसरमा उनीहरुलाई ललितपुरमा पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुने डाक्टरहरुमा ग्राण्डी इन्टरनेशनल अस्पतालको इमर्जेन्सी विभागका डा.अजय सिंह थापा, त्रिविवि शिक्षण अस्पतालको इमर्जेन्सी विभागका डा.रामप्रसाद न्यौपाने, बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमर्जेन्सी विभागका डा.मौसम पौडेल र डा.रजनी गिरी, पाटन अस्पतालको इमर्जेन्सी विभागका डा.आशिष श्रेष्ठ र हेल्पिंग ह्याण्डस चावहिलका स्वास्थ्यकर्मी रमेश न्यौपाने छन । 
यसैगरि नादेम संस्थाकी संस्थापक सदस्य स्वर्गीय नर्स रश्मी महर्जनको स्मृतिमा स्थापना गरिएको मेडल र ट्रफिसहितको ‘नादेम रश्मि पुरस्कार’ त्रिविवि शिक्षण अस्पतालका नर्सद्धय अमिता थापा र मनकुमारी घलेलाई प्रदान गरिएको छ । नर्सद्धय घले र थापाले ‘हयाण्डबुक अफ इमर्जेन्सी नर्सेस’ नामक किताव लेखेका थिए । 

यसैगरी इमर्जेन्सी तथा जटिल अवस्थामा गरिने उपचारका विषयमा विदेशमा स्नातकोत्तर तहमा अध्यनरत नादेमकी सदस्य नर्स ऋचा न्यौपानेलाई २० हजार रुपैयाबराबरको ‘नादेम अनुसन्धान वृत्ति’ प्रदान गरियो ।
यसैगरि नादेम डिष्ट्रिक्ट अवार्डबाट गोरखाका मेनुका सुवेदी, धादिंग उषा किरण राना, सोलुखुम्बुका नुतन श्रेष्ठ, ओखलढुंगाकी मिरा दाहाल, रामेछापका बद्री घिमिरे, दोखलाका कृष्णबहादुर बस्नेत, सिन्धुपाल्चोकका गोविन्दप्रसाद सापकोटा, सिन्धुलीका दिपकप्रसाद कोइराला,काभ्रेका भोजराज तिम्सिना, रसुवाका हेमनाथ खतिवडा,नुवाकोटका कृष्ण प्याकुरेल र मकवनापुरका दिपेन्द्र पाठक छन । 
नेपाल डिजास्टर एण्ड इमर्जेन्सी मेडिसिन सेण्टर ‘नादेम’का संस्थापक प्रमुख संयोजक सहायक प्राध्यापक डा.रमेश महर्जनले चिकित्सक, नर्स तथा स्वास्थयकर्मीलाई ती पुरस्कार दिएका थिए । 
यसैगरि नादेमको १० औं वार्षिकोत्सवको अवसरमा चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र स्वयमसेवहरुले ललितपुरका विभिन्न टोलको हिँडेर परिक्रमा गरेर नेवारी परम्पराअनुसार भोज आयोजना गरेको थियो ।