न्युयोर्क

न्यूयोर्कमा पहिलो पटक आदिवासी चलचित्र महोत्सव

गोकुल श्रेष्ठ/न्यूयोर्क

विश्व आदिवासी दिवसको सन्दर्भ पारेर न्यूयोर्कमा पहिलो पटक ‘नेपाल आदिवासी चलचित्र महोत्सव’ हुने भएको छ ।  नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) को आयोजनामा हुन लागेको चलचित्र महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यहि अगष्ट २५ देखि २७ तारिख सम्म तीन दिन गरिने चलचित्र महोत्सवमा ११ वटा चलचित्र प्रदर्शन गरिने भएको छ । त्यस्तै महोत्सवमा ११ विभिन्न विधामा पुरस्कार तथा ट्रफि प्रदान गरिने भएको छ । 

नेपालका आदिवासी चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्दै नेपालका आदिवासी चलचित्रहरु जो राज्य र मुलधारबाट सिमान्तकृत छन् त्यस्तो चलचित्रहरुलाई अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धदनका लागि महोत्सव गर्न लागिएको फिप्नाका अध्यक्ष लुईसाङ वाईवाले जानकारी दिनुभयो । यस्तो महोत्सवले नेपालको पर्यटन उद्योगलाई समेत प्रवद्र्धन गर्ने उहाँको विश्वास छ । त्यतिमात्र होईन नेपालका आदिवासी जनजातिको भाषा, कला, संस्कृति, परम्परा र भेषभूषालाई अन्तराष्ट्रियकरण गर्न यो महोत्सवले ठूलो टेवा पु¥याउने आयोजकको भनाई छ । 

महोत्सवका लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सवमा सहभागिताका लागि दर्ता भएका ३९ चलचित्रहरु मध्येबाट ११ वटा चलचित्र छनौट गरिएको हो । छनौट भएका लामा चलचित्रहरुमा हेलुक्व (लिम्बु), लोम्बा (मगर), कृषा गौतमी (नेवार) मैंरिमो (गुरुङ), सुम्निमा (राई), सेम ताबा म्ही (तामाङ) र शेरडा (मुस्ताङ्ग) रहेकाछन् । यसैगरी छनौट भएका लघु चलचित्रहरुमा फेके (मगुाल), बन्ठी (माझी), कल्ली (नेवार) र लाज (थारु) रहेकाछन् । छनौट भएका ७ लामा चलचित्र मध्येले बिभिन्न १० विधामा प्रतिष्पर्धा हुने छनौट समितिले जनाएको छ । उक्त चलचित्रहरुबाट सर्वाेत्कृष्ट चलचित्र, अभिनेता, अभिनेत्री, कथा, छायाँकार, सम्पादक, भेषभुषा, संगीत, निर्देशक र पब्लिक च्वाईसको बिभिन्न विधामा अन्तिम स्पर्धा गराईने आयोजकले जनाएको छ । छनौट भएका ४ लघु चलचित्रको हकमा भने सर्वाेत्कृष्ट शर्ट फिल्म र पब्लिक च्वाईसको लागि मात्र प्रतिष्पर्धा गराईने भएको छ । 

छनौटमा भएका सम्पूर्ण चलचित्रहरुको अगस्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा सार्वजानिक प्रर्दशन हुनेछ । महोत्सवमा ‘सर्वाेत्कृष्ट आदिवासी राष्ट्रिय पुरस्कार(२०१५’ बिजेता चलचित्र ‘मतान’ (राई) र ‘पब्लिक चोईस अवार्ड, आदिवासी जनजाति चलचित्र महोत्सव(२०१७’ बाट पुरस्किृत ‘कर्म क्या’ (गुरुङ) को बिशेष प्रर्दशन गरिने पनि गरिने भएको छ । 

‘महोत्सवमा छनौट भएका चलचित्रहरु तीन चरणको छनौट प्रक्रियाबाट छानिएका हुन् । पहिलो चरणमा, सम्बन्धित समुदायको चलचित्र बोर्डले दर्ता र छनौट गरेको छ भने दोश्रो चरणमा, नेपाल स्थित फिप्नाको काठमाडौँ सचिवालयले छनौट गरेको छ र तेश्रो चरणमा, न्युयोर्क सचिवालयले चलचित्र विज्ञहरु मार्फत अन्तिम छनौट गरेको छ जुन चलचित्रहरु महोत्सवमा प्रदर्शनी गरिनेछन् ।’ – अध्यक्ष तामाङले भन्नुभयो । चलचित्र छनौट समितिमा डा. कृष्ण भट्टचन, छिरिङ रितार शेर्पा, अमृत योञ्जन, नबिन सुब्बा र अमृत बहादुर सुनुवार रहेका थिए । 

महोत्सवका लागि आदिवासी जनजाति चलचित्र महासंघ (फिन्फी), ईन्डिजिनियस फिल्मस् अर्काईभ (आईफा) र फिप्नाका सम्पूर्ण सदस्य संस्था सह–आयोजक रहेका छन् । त्यस्तै नेपाल चलचित्र विकास बोर्ड र नेपाली महावाणिज्य दूतावास, न्यूयोर्क महोत्सवमा बिशेष सहयोगी संस्था रहेका छन् । चलचित्रमा सहभागिताका लागि नेपाल लगायत विभिन्न मुलुकबाट आदिवासी चलचित्रकर्मीहरु आउने भएका छन् । त्यस्तै अमेरिकामा रहेका दर्शकहरुको लागि भने टिकटको व्यवस्था गरिएको छ ।

महोत्सवले आदिवासी चलचित्रको प्रवद्र्धन मात्रै होइन नेपालको पर्यटन प्रवद्र्धनसमेत गर्नेछ

लुईसाङ डब्ल्यु. तामाङ 
अध्यक्ष, फिप्ना 

आदिवासी चलचित्र महोत्सव गर्नुको उद्देश्य के हो ?
स्पष्ट रुपमा भन्नु पर्दा नेपालका आदिवासी चलचित्रकर्मीहरुलाई प्रोत्साहन मिलोस् भन्ने यो आदिवासी चलचित्र महोत्सवको विशुद्ध उद्धेश्य हो । नेपालका आदिवासी चलचित्रहरु जो राज्य र मूलधारबाट सिमान्तकृत छन् त्यस्तो चलचित्रहरुलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्नु यो महोत्सवको उद्देश्य हो । यसले नेपालको पर्यटन उद्योगलाई समेत प्रर्वद्र्धन गर्नेछ भन्ने हाम्रो विश्वास छ ।

यो महोत्सव पहिलो र अन्तिम हो की यसले निरन्तरता पाउनेछ ?
(हास्दै) कुनै शंका नगर्नुस् । यो महोत्सव पहिलो पक्कै हो तर अन्तिम होइन । यो त शुरुवात मात्रै हो । हरेक वर्ष विश्व आदिवासी दिवसको अवसर पारेर फिप्नाले यसलाई वार्षिक कार्यक्रमको रुपमा निरन्तरता दिनेछ ।

महोत्सवको तयारी हेर्दा त निकै खर्चिलो देखिन्छ नि, यसको आर्थिक श्रोत के हो ?
ग्लेमर स्वाभाविक रुपमै महँगो हुन्छ । यो महोत्सवको अनुमानित बजेट ३१ हजार  अमेरिकी डलर हो । यसको श्रोत भनेको फिप्नाका सदस्य संस्थाहरु, राज्य समितिहरु र हाम्रा शुभचिन्तकहरु नै हुन् ।     

महोत्सवको लागि चलचित्र छनौट विधि के हो ?
महोत्सवमा छनौट भएका चलचित्रहरु तीन चरणको छनौट प्रक्रियाबाट छानिएका हुन् । पहिलो चरणमा, सम्बन्धित समुदायको चलचित्र बोर्डले दर्ता र छनौट गरेकोछ । दोश्रो चरणमा, नेपाल स्थित फिप्नाको काठमाडौँ सचिवालयले छनौट गरेकोछ र तेश्रो चरणमा, न्युयोर्क सचिवालयले चलचित्र विज्ञहरु मार्फत अन्तिम छनौट गरेकोछ जुन चलचित्रहरु महोत्सवमा प्रदर्शनी गरिनेछन् ।

महोत्सवमा सहभागिताकोलागि नेपालबाट को को आउँदैछन् ?
महोत्सवको उद्देश्य अनुरुप अन्तिम छनौटमा परेका हरेक चलचित्रबाट दुईजना चलचित्रकर्मी तथा कलाकारहरुले सहभगिता जनाउन पाउनेछन् । त्यसको अतिरिक्त चलचित्रसँग सम्बन्धित आधा दर्जन जति विशेष अतिथिहरु पनि महोत्सवमा सहभागी हुनेछन् । 

महोत्सवको लागि नेपालबाट दर्जनौ चलचित्रकर्मीहरु सहभागि हुदैछन् भनिएको छ, कतिजना आउँदै छन् ?
मैले पहिले पनि उल्लेख गरीसकेको छु की छनौट भएका हरेक चलचित्रबाट दुईजना चलचित्रकर्मीहरु यो महोत्सवमा सहभागी हुन पाउने छन् । महोत्सवमा जम्मा ११ वटा चलचित्रहरु प्रदर्शनी हुँदैछ । अर्को आधा दर्जन जति चलचित्र क्षेत्रका विशेष अतिथिहरुले पनि महोत्सवमा भाग लिनु हुनेछ ।

चलचित्रकर्मीलाई अमेरिका ल्याउनलाई आर्थिक चलखेल हुनसक्छ भनेर केहि व्यक्तिहरुले आशंका गरेका छन् नि ?
हेर्नुस् काम गर्ने मान्छेलाई हरेक किसिमको आक्षेप आउने गर्छ । काम गर्न नसक्नेले काम गर्ने मान्छेलाई जे पनि आरोप लाउछन् । तर हामीलाई केहि फरक पर्दैन । किन भने हामी काम गर्ने मान्छे हौँ र हामीले गरेका हरेक काम समुदायले नजिकबाट नियालेको छ र समुदायले हामी माथि ठूलो विश्वास राख्दछ ।

न्युयोर्क जस्तो व्यस्त ठाउँमा ३–३ दिन सम्म कार्यक्रम गर्दा जनसहभागिताको समस्या हुँदैन ?  
हेर्नुस् गोकुलजी, न्युयोर्क एउटा मिनी नेपाल हो प्रवासमा । पहिले हामीले पनि सोचेका थियौं कतै जनसहभागिता हामीले सोचेको जस्तो नहोला की भनेर । तर अहिले आएर हामी खुशी छौ । किन भने तिनै दिनको टिकटहरु लगभग बिक्री भैसकेका छन् । अब थोरै मात्र त्यसै दिनको लागि भनेर टिकट साँची राखेका छौ । त्यसैले न्युयोर्क मिनी नेपाल भइसकेछ । 

फिप्नाको अध्यक्ष भएपछि यो नेपाली डायस्पोरामा ‘नेपाल डे परेड’ र ‘आदिवासी चलचित्र महोत्सव’ जस्ता दुई ठूला कार्यक्रमहरु आयोजना गर्नु भयो र गर्दै हुनुहुन्छ ? कस्तो लागिरहेछ ?
मेरो लागि यो सौभाग्य हो । फिप्नाको नेतृत्व सम्हालेपछि यो डायस्पोराले मलाई जुन किसिमले विश्वास गरेको छ त्यसको लागि म डायस्पोराप्रति धेरै आभारी छु ! खुशी छु मैले हरेक गतिविधिमा समुदायको साथ पाएकोछु । साथै मैले यी दुवै कार्यक्रम सम्पन्न गर्दै गर्दा असाध्यै सक्रिय र मिजासिलो मित्रहरु पाएको छु जसको कारणले यति महत्वका दुई कार्यक्रमहरु सफल भएका छन् र हुदैछन् । यी दुवै कार्यक्रमहरु डायस्पोराका लिगेसी हुन् । नेपाली पहिचान हो ।             

आफ्नो भाषा, संस्कृति र भेषभुषाको महत्व जोगाउन चलचित्र महोत्सव

मणि वाङ्देल, संयोजक
नेपाल आदिवासी चलचित्र महोत्सव–२०१७

महोत्सवको तयारी कस्तो छ ?
घुँडो मुन्टो गरेर सफल पार्न चौतर्फी लागिपरेका छौं । यस अर्थमा पनि महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

यो महोत्सवको मूल आकर्षण के हो ?
बिभीन्न जात जातिका भाषा, कला, संस्कृति र भेषभुषामा निर्माण भएका चलचित्रहरु एउटै हलमा हेर्न पाउनु नै यसको आकर्षण हो । 

पहिलो पटक महोत्सव आयोजना गर्दै हुनुहुन्छ, कस्ता चुनौतिहरु आईरहेका छन् ?
न्युयोर्क जस्तो ब्यस्त सहरमा आदिवासी चलचित्र महोत्सव गर्नुपर्छ भन्ने सोच नै पहिलो चुनौति थियो । अवत तीन भाग बाटो काटि सकियो र पनि समयको तर्जुमा गर्न मुख्य चुनौति भैरहेछ । 

चलचित्र महोत्सव गर्नुको मूल उद्देश्य के हो ?
मूलधारको चलचित्रहरुले बजार खर्लप्प खाईरहँदा पनि आफ्नो भाषा, संस्कृति र भेषभुषाको महत्व चलचित्रमार्फÞत दोस्रो पिंढीलाई ज्ञान दिदै सुम्पिनु चाहने चलचित्र कर्मीहरुलाई हौसला हो । 

चलचित्र छनौट प्रक्रियामा विवाद आएको हल्ला छ नि, वास्तविकता के हो ?
प्रारम्भिक चरणको चलचित्र छनोटका जुरिहरुकै नाम अन्तिम छनोटमा पनि आएको हुनाले बिवाद जस्तो देखिएको हो । प्रतिस्पर्धामा जाने अन्तिम चरणको चलचित्र छनोटमा उहाँहरुको संलग्नाता थिएन । 

तीन–तीन दिनसम्म महोत्सव गर्दै हुनुहुन्छ, जनसहभागिताको व्यवस्थापन कसरी हुँदैछ ?
यो महोत्सव पहिलो भएकोले दर्शक आफै ईच्छुक छन् । साथै थप सहभागिता होस् भनेर १२ वटा अवार्ड मध्ये एउटा चांहि पब्लिक च्वाईस राखेका छौं र आफ्नो चलचित्रलाई भोट दिनकै लागि भए पनि धेरैजनाको सहभागिता हुने आशा गरेका छौं ।