मनोरंजन

रोजीको ‘स्वामी राजालाई...’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, भदौ । विगत ८ वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय रोजी श्रेष्ठले पहिलो पटक तीज विशेष गीत ‘स्वामी राजालाई...’ बजारमा ल्याएकी छन् । यस अघि विभिन्न नेवारी भाषाका बुद्ध सम्बन्धी भजन बजारमा ल्याएकी रोजीले तीज गीत भने पहिलो पटक ल्याएकी हुन् । 

पहिलो गीतमा नै रोजीले ‘स्वामी राजालाई’ रोजेकी छिन् । तीजका गीतहरुमा गायक गायिकले नारी–चेलीबेटीहरुले पाएका दुःख पीडालाई गीत मार्फत पस्कने गरेको पाइन्छ । त्यसो त कतिपयले सासु बुहारीको झगडालाई गीतमा प्रस्तुत गर्छन् ।

तर, रोजीले भने सासु–बुहारीको झगडाभन्दा टाढा रहेर स्वामी राजालाई सम्झेकी छन् । वास्तवमा सुःख दुःखको साथी नै पति–पत्नी हुन् । सायद रोजीले ‘पति–पत्नी एक रथका दुई पांग्रा’ राम्ररी बुझेकी हुनुपर्छ । उनको गीतको भावले पनि यस्तै भन्छ– 
‘राख्नेछु शिरैमा मनको राजालाई
धन्य होस् माया गर्ने स्वामी राजालाई...’

मौलिक परम्परा तथा तीजको ऐतिहासिक पक्षलाई पनि उनले गीतमा समेटेकी छन् । अहिले बजारमा आएका गीतहरुभन्दा पृथक शैलीको गीतमा मोडलिङ पनि स्वयं रोजीले नै गरेकी छिन् । विभिन्न स्टेज कार्यक्रम तथा आफ्नै व्यवसायमा व्यस्त रहने रोजीले भनिन्, ‘व्यस्तताका बीच पनि मेरो पहिलो प्रयास स्वरुप तीज गीत बजारमा ल्याएको हुँ, लय र शब्द राम्रा छन्, दर्शक तथा स्रोताले मनपारउनुहुन्छ भन्ने आशा छ ।’

उनले पछिल्लो पुस्ताका गायक गायिकाहरुले बजारमा ल्याएका गीतमा उछृंखल शब्दहरु समेटिको हुँदा यसले संस्कृति जोगाउने भन्दा विकृति बढाउने बताइन् । उनले भनिन्– ‘कलाकार सभ्य र शालीन बन्नुपर्छ,  आफ्नो मौलिक कला संस्कृतिको जगेर्ना गर्नु हाम्रो प्रमुख दायित्व हो ।’

विनय लामाको शब्द र संगीत रहेको गीतमा रोजीले आवाज दिएकी हुन् । संगीत संयोजन बबी राजले गरेका छन् भने निर्देशक लक्षु गौतम र कुमार थापाको नृत्य निर्देशनमा भिडियो निकै नै आकर्षक बनेको छ । गीतको भिडियोमा रोजीले नै कम्मर मर्काएकी छन् । दृश्य निर्माण पनि उनकै संस्था रोजी आर्टस्ले गरेको हो । 

 

स्ताे छ भिडियाे...