चलचित्र

उल्झनका लागि ध्रुव र वेनी नेपालमा, काम धमाधम

काठमाडौं, साउन ।  नेपाली चलचित्रलाई बेलयात र बेल्जियममा बसेर पनि नजिकबाट माया गर्ने दुई निर्माता कलाकार यतिबेला काठमाडौंमा निकै सक्रिय रहेका छन् । निर्माता तथा कलाकार वेनीज्योति ढुंगान विगत लामो समयदेखि बेल्जियममा बसेर व्यापार व्यवसया गर्दै समाजसेवामा लागेका कलाकार हुन् ।

उनले बेल्जियममा आफ्नो पछिल्लो चलचित्र उल्झनको छायांकन सकेर अहिले काठमाडौंमा बाँकी छायांकन सक्न आएका हुन् । अहिले चल्तीका निर्देशक राजु अधिकारीले उल्झनको फुँयाल स्टुडियोमा धमाधम चलचित्रको दृश्य खिचिरहेका छन् । फुयाल स्टुडियोमा उल्झनको पाँच दिनको सुटिङ कार्यतालिका रहेको छ । 

चलचित्रको मुख्य नायक धु्रवदत्त पनि चलचित्रको बाँकी छायांकन सक्न यो साता नै बेलायतबाट नेपाल आएका हुन् । उनले अहिलेसम्म नेपाली चलचित्रमा आधा दर्जन भन्दा बढी चलचित्रमा अभिनय गर्नुका साथै बेलायतमा बसेर पनि नेपाली चलचित्रको विकास र समृद्धिको लागि थुप्रै काम गरेका छन् ।

हालै ऐतिहासिक चलचित्र तीन घुम्तीका मुख्य नायक धु्रवले राम्रो काम गरेकै कारण बेलायतमै सम्पन्न भएको राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डमा विशेष चलचित्र र विशेष नायकको रुपमा अवार्ड प्राप्त गरेका थिए । सोही समारोहमा निर्माता वेनीज्योति ढुंगाना र अर्का निर्माता तथा कलाकार तेजेन्द्र कँडेलले पनि बेल्जियमदेखि आएर विशेष सम्मान ग्रहण गरेका थिए । 

यही टिमले चलचित्र उल्लझन निर्माण गर्न लागेको हो । राजु अधिकारीको कथा तथा निर्देशनमा तयार हुन लागेको यो चलचित्रको काठमाडौं छायांकनको लागि सोमबार काठमाडौंमा शुभसाइत गरिएको हो । तेजेन्द्र कँडेल प्रस्तुतकर्ता रहेको यो चलचित्रमा सन्तोष अधिकारी र हरि कार्कीको लगानी रहनेछ ।

यस्तै, चलचित्रका कार्यकारी निर्माता नविन अधिकारी र नारायण ढुंगाना छन् । मन्षा मान्स्भी अधिकारी, सुजित महर्जन यसका सह–निर्माता हुन् । चचित्रमा ध्रुव दत्त, रजनी केसी, वेनी ढुंगाना, दिपक ढकाल, रामचन्द्र अधिकारी, ऐनी बिष्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको जानकारी गराइएको हो । एउटा यूवाले विदेशमा पुगेर भोग्नु परेको पीडा र लक्ष्य प्राप्त गरिसकेपछि स्वदेश फर्कदा पारिवारिक सम्बन्धमा आउने दरारको कथालाइ यो चलचित्रले उठान गरेको निर्माता तेजेन्द्र कँडेल र वेनिज्योति ढुंगानाले बताए । 

चलचित्रको छायांकनका दृश्य दिइरहेका निर्देशक राजु अधिकारीले आफ्नो पछिल्लो चलचित्र उल्झनले मनोरञ्जन प्रदान गर्नुका साथै मुलुकको लागि सन्देश मूलक हुने बताए । उनले वैदेशिक रोजगारीमा देखिएको समस्याहरुलाई आफ्नो चलचित्रले निकै नै कलात्मक रुपमा प्रस्तुत गरेको दाबी गरे । निर्माता वेनीज्योतिले आफू विगत लामो समयदेखि विदेशमै बसेर संघर्ष गरेका कारण पनि वैदेशिक रोजगार र यहाँ हुने समस्याका विषयमा आफू जानकार भएकोले आफूले यस्तो चलचित्रमा हात हालेको बताए ।

अहिले बेल्जियममा रहेका तेजेन्द्र कँडेलले पनि चलचित्र उल्झन आफ्नो टिमको उत्कृष्ट चलचित्र रहेने बताएका छन् । त्यसैगरी बेलायतमा ब्यस्त समय विताउँदै आएका नायक धु्रवदत्तले आफू चलचित्रको लागि जस्तोसुकै त्याग गर्न पनि पछि नपर्ने भएकाले उल्झनका लागि नेपाल आएको बताएका छन् । उनले आफूले अभिनय गरेका चलचित्रहरु नेपाली चलचित्रमा सम्झनयोग्य रहेकोले उल्झन पनि त्यो भन्दा कम नहुने विश्वास लिएका छन् ।