चलचित्र

न्यूयोर्कमा नेपाल आदिवासी चलचित्र महोत्सव हुने

न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले न्यूयोर्कमा ‘नेपाल आदिवासी चलचित्र महोत्सव’ गर्ने भएको छ । आगामी अगष्ट ११, १२ र १३ तारिखमा आयोजना गरिएको महोत्सवको तयारी तिब्र पारिएको महोत्सव आयोजक समितिका संयोजक मणि वाङ्देलले जानकारी दिनुभयो । 

महोत्सव सम्पन्न गर्नका लागि नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) का बरिष्ठ उपाध्यक्ष वाङ्देलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको हो । त्यस्तै महोत्सवलाई सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । महोत्सवलाई सहज सम्पन्न गराउन नेपालमा पनि सम्पर्क सचिवालय रहने आयोजकले जानकारी दिएका छन् । त्यस्तै निर्णायक समितिमा रहने विज्ञहरुको पनि चयन भएको आयोजकले जनाएका छन् । नेपालका आदिवासीको विषयलाई समेटेर बनाईएका विभिन्न भाषाका चलचित्रका साथै नेपाली भाषाका चलचित्र महोत्सवमा प्रदर्शन गरिने बताईएको छ । त्यस्तै महोत्सवमा विभिन्न विधामा पुरस्कार वितरण गरिनेभएको छ ।

तीन दिनसम्म चल्ने महोत्सवलाई विभिन्न चरणमा सम्पन्न गरिनेछ । आदिवासीको भाषा, संस्कृति र पहिचानको संरक्षणका लागि चलचित्रले पु¥याएको योगदानको सम्मान र प्रोत्साहनका साथै आदिवासी चलचित्रको उत्थानका लागि महोत्सव गर्न लागिएको संयोजक वाङ्देलले जानकारी दिनुभयो ।