कला-साहित्य

वसुन्धराश्री र मानश्री पुरस्कार क्रमशः शर्मा र नेपालीलाई

काठमाडौं– वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठाले यस वर्षको वसुन्धराश्री पुरस्कार सुप्रसिद्ध साहित्यकार प्रा.डा. तारानाथ शर्मा र  मानश्री पुरस्कार संचारकर्मी श्री खगेन्द्र नेपालीलाई प्रदान गर्ने भएको छ । 
वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले शर्मा र नेपालीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उत्कृष्ट, विशिष्ट र पठनीय आधुनिक नेपाली निबन्ध, नियात्रा, कथा, उपन्यास र समालोचनाहरुका सिर्जनाद्वारा आधुनिक नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली भाषा–साहित्यको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न जिन्दगी अर्पण गर्नुहुने शर्माको सम्मानार्थ पुरस्कार प्रदान गर्न लागिएको हो । वसुन्धरा पुरस्कारको राशी  नगद रु. ५० हजार रुपैयाँ रहेको छ । 
वि.संं. १९९१ साल असार ९ गते इलाममा जन्मनु भएका विशिष्ट स्रष्टा डा. तारानाथ शर्माका बेलायततिर बरालिंदा, सम र समका कृति, घोत्ल्याइँहरु, भानुभक्तदेखि तेस्रो आयामसम्म, नेपाली साहित्यको इतिहास, पश्चिमका केही महान साहित्यकार, जमर्काहरु, जीवनका छाल, दुई पोका चुरा, मेरो कथा, ओझेल पर्दा, झझल्को, पातालप्रवास र नेपालदेखि अमेरिकासम्म लगायत चार दर्जनभन्दा बढी कृतिहरु प्रकाशित भइसकेका छन् । 
त्यसै गरी प्रज्ञाप्रतिष्ठानको उक्त विशेष वैठकले उत्कृष्ट स्तरीय र पठनीय नेपाली कविता, गीत, कथा तथा बौद्धिक, सांस्कृतिक र संस्मरणात्मक लेख निबन्धहरुको सिर्जना एवं कालजयी स्रष्टाहरुका अजरामर कृतिहरुलाई आफ्नो श्रुतिमधुर स्वरद्वारा श्रव्यकृतिहरु प्रकाशन गरी नेपाली साहित्यलाई अझ सुपाठ्य, शालीन र समुन्नत बनाई नेपाली वाङ्मयको विकासमा महत्वपूर्ण योगदान गरी प्रवासमा रहेर पनि नेपाली साहित्यमा आफ्नो अलग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गर्नुहुने सुस्थापित, लोकप्रिय र चर्चित साहित्यकार तथा संचारकर्मी श्री खगेन्द्र नेपालीलाई मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । साहित्यकार तथा सञ्चारकर्मी नेपालीलाई नगद राशी २५ हजार पुरस्कार सहित सम्मानपत्र प्रमाण गरिनेछ । 
सन् १९४६ अप्रिल २५ गते काठमाडौमा जन्मनुभएका श्री खगेन्द्र नेपालीले सत्ताईस वर्ष बीबीसी नेपाली सेवाको प्रमुखका रुपमा कार्यरत रही नेपाली भाषाको प्रचार प्रसारमा महत्वपूर्ण योगदान गर्नुका साथै जवाफ हाजिर छ (साझा प्रकाशन ), महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदेखि शून्यसम्म, विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त, डायमनशमसेर राणाको सेतो बाघ, रमेश विकलको अविरल बग्दछ इन्द्रावति, स्वामी आनन्द अरुणको सन्त गाथा र झमक घिमिरेको जीवन काँडा कि फूल लगायत विशिष्ट साहित्यिक कृतिहरु स्वरांकन गरी श्रव्यकृति तयार पार्ने प्रशंसनीय कार्य गर्नुभएको छ । 
यसअघि वसुन्धराश्री पुरस्कारद्वारा कविवर श्री माधवप्रसाद घिमिरे ( वि.सं. २०५७), वरिष्ठ उपन्यासकार श्री दौलतविक्रम विष्ट ( वि.सं. २०५८), वरिष्ठ कथाकार तथा नाटककार श्री गोविन्दबहादुर मल्ल गोठाले लगायतलाई प्रदान गरिएको थियो ।