कला-साहित्य

राष्ट्रगानका सर्जक व्याकुल माइला महानगरको विकासमा

काठमाडौं, बैशाख ।  काठमाडौं महानगरपालिकालाई सभ्य, सुसंस्कृत, स्वच्छ, र सफा बनाउने अभियानमा महानगर र राष्ट्र गानका सर्जक प्रदीपकुमार राईवीच विकास दूत सम्बन्धी मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  
महानगरपालिका कार्यालयको २०७३ फागुन २२ गतेको निर्णय अनुसार चैत १८ गते आयोजित तत्काल सुधार कार्ययोजना, २०७३ को सार्वजनिकीकरण कार्यक्रममाझ विकासदूत घोषित राष्ट्रिय गानका सर्जक व्याकुला माइला अर्थात् प्रदीपकुमार राई र महानगरवीच सम्झौता भएको हो ।  
सम्झौता समारोहलाई सम्बोधन गर्नुहुँदै महानगरका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले — महानगरसँग राष्ट्र गानका सर्जक राईको सहकार्यले, सहरी व्यवस्थापनका सम्भावना र चुनौतीबीच विकासको तरंग ल्याउन सकिने धारणा राख्नुभयो । 
समारोहमा विकासदूत व्याकुल माइलाले विकासदूत नियुक्त भएपछि थप जिम्मेवारी बोध गर्दै, व्यक्तित्व रक्षाकालागि महानगरको सहयोग — कला रक्षाकालागि महत्वपूर्ण रहेको बताउनु भयो ।  
आवश्यकताका आधारमा सम्झौता अवधि बढाउन सक्ने गरी हाल १ वर्षकालागि भएको सम्झौता भएको छ । जस अनुसार महानगरले विकासदूतलाई मानार्थ परिचय पत्र प्रदान गर्नुका साथै सम्मान स्वरुप मासिक ३० हजार रुपैयाँ उपलब्ध गराउने छ  । विकासदूतले सहरी व्यवस्थापन अन्तर्गत राजस्व परिचालन, सहरी आचरण विकासलगायत महानगर र महानगरवासी बीच सिधा सम्पर्क हुने क्षेत्रमा कार्य गर्नु पर्नेछ ।  
यसभित्र विकासदूतले बालविकास, मातृशिशु, महिला, अपाङ्ग र स्वास्थ्य—शिक्षा लगायतका सामाजिक विकासका क्षेत्रमा सक्रियतापूर्वक सहभागिता जनाउनु पर्नेछ ।  
विक्रम सम्वत २०२९ साल चैत २५ गते ओखलढुङ्गामा जन्मनु भएका राईले लेख्नुभएको सयौं थुँगा फूलका हामी एउटै माला नेपाली बोलको गीत प्रतिष्पर्धामार्फत २०६४ जेठ ४ गते राष्ट्रिय गानका रुपमा घोषणा भएको हो । प्रतिष्पर्धामा १ हजार २ सय ७२ गीतहरु थिए ।