अन्तरवार्ता

प्रवासमा रहेर सामाजिक संस्थामा काम गर्न सजिलो छैन

(प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेशन मेरिल्याण्ड राज्यको बाल्टीमोरमा मार्च ३१ देखि अप्रिल २ सम्म हुन लागेको छ । अधिवेशनमा बिभिन्न २४ वटा राज्यका प्रतिनिधि र नेपालबाट एमाले नेताहरु ऋतिथिको रुपमा सहभागि हुदैछन् । यसैको पूर्वसन्ध्यामा न्यूयोर्क समाचारका प्रधानसम्पादक गोकुल श्रेष्ठले मञ्चका अध्यक्ष सञ्जय थापासँग गरेको संक्षिप्त कुराकानी ।)
सञ्जय थापा
अध्यक्ष, प्रवासी नेपाली मञ्च अमेरिका

अधिवेशनको तयारी कस्तो छ ?
अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भईसकेको छ । प्रमुख अतिथिको रुपमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम तय भएको थियो । तर नेपालमा स्थानीय निकायको निर्वाचन घोषणा भईसकेपछि कार्यव्यस्तताका कारण उहाँको भ्रमण रद्द भएको छ । पूर्व मन्त्री खगराज अधिकारी आईसक्नु भएको छ । 
एक कार्यकालबाटै तपाईले नेतृत्व हस्तान्तरण गर्दैहुनुहुन्छ, कारण के हो ?
यो एउटा प्रजातान्त्रिक अभ्यास हो । यसमा मैले नै पाउनु पर्छ र मैले मात्र नेतृत्व लिनु पर्छ भन्ने होइन । यद्यपी काम गर्न इच्छुक साथीहरु धेरै हुनुहुन्छ । त्यसैले मैले उहाँहरुलाई नेतृत्व लिनका लागि उत्प्रेरणा पनि दिन चाहन्छु । काम गर्ने साथीहरु अगाडी आए पछि तछाड् मछाड् गर्नु हुदैन भन्ने मेरो मान्यता हो । साथीहरुले तपाई नै दोहोरिनु प¥यो भनिरहनु भएको छ, त्यसो भयो भने निर्वाचनमा जानु पर्दैन भन्ने उहाँहरुको बुझाई हो । तर मैले पहिले नै घोषणा गरिसकेको छु कि म एक कार्यकालका लागि मात्र नेतृत्व लिने हो । त्यसैले पनि मैले नेतृत्व हस्तान्तरण गर्न लागेको हुँ । 

तपाईको कार्यकालमा खास उल्लेख गर्न लायक काम के के भए ?
हामीले पहिलो महत्वपूर्ण काम टिपीएस ग्रान्ट गर्न भूमिका खेल्यौं । नेपालमा भूकम्प गईसकेपछि भएका विभिन्न भेलामा हामीले टिपीएसका लागि बहसहरु ग¥यौं, धेरै साथीहरुले यो बेकारको कुरा हो पनि भने । एनआरएनका साथीहरुले पनि त्यस्तै भन्नु भयो । अनि अधिबक्ता डिल्ली भट्टजी सँगको मेरो कुराकानी भएपछि नेपाल सरकारको तर्फबाट के कस्तो पहल गर्नु पर्छ त्यसका लागि मैले गर्न सक्ने जति गर्छु भने । त्यसको भोली पल्टै मैले अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीसँग सम्पर्क गरें । उहाँ अमेरिका आउने तयारीमा हुनुहुन्थ्यो । उहाँलाई मैले सम्पूर्ण प्रक्रियाका बारेमा र यहाँको वास्तविकताको बारेमा जानकारी गराएँ उहाँ सकारात्मक हुनुभयो । हजारौं कागजपत्र विहिन नेपालीहरुको अवस्थाको बारेमा पनि जानकारी गराएँ । उहाँले औपचारिक रुपमा अमेरिकी सरकारलाई पत्राचार गर्नु भयो । जसले गर्दा हामी टिपीएस प्राप्त गर्न सफल भएका हौं । त्यसमा अन्य संस्थाहरुको आ–आफ्नो भूमिका त छदैछ । त्यस्तै हामीले नेपालमा विभिन्न घटना परिघटनामा साथ सहयोग गर्दै आएका छौं । खासगरी हामीले शिक्षा क्षेत्रमा सहयोग गर्दै आएका छौं । नेपालमा ५० जना विद्यार्थीको पठनपाठनका लागि हामीले सहयोग गर्दै आएका छौं । जुन एक वर्षसम्म रहनेछ । त्यस्तै गोरखाको भूकम्प प्रभावित क्षेत्रमा एउटा प्राथमिक विद्यालय निर्माण ग¥यौं । त्यस्तै गतसाल हामीले नेपाल डे परेड भव्य रुपमा सफल ग¥यौं । त्यो पनि एउटा महत्वपूर्ण उपलब्धी हो । 
मेरो कार्यकालमा मैले जे जति गर्न सकें त्यो पर्याप्त नै गरेको हुँ । प्रवासमा रहेर सामाजिक क्षेत्रमा काम गर्न पक्कै पनि सजिलो छैन । आर्थिक लगानीदेखि समयको व्यवस्थापन गर्न कठिन छ । अमेरिकाको नेपाली डायस्पोरामा विभिन्न संघसंस्थामा देखिए जस्तो किचलो हाम्रोमा छैन । त्यसलाई पनि हामीले सकारात्मक रुपमा लिनुपर्छ । 

प्रवासी नेपाली मञ्च एमालेको भातृ संस्था हो वा शुभचिन्तक संस्था हो वा स्वतन्त्र सामाजिक संस्था हो ?
प्रवासी नेपाली मञ्च भनेको हिजो नेपालमा रहँदा एउटा विचारधारामा जोडिएका साथीहरु जे अहिले अमेरिकामा हुनुहुन्छ, उहाँहरु सम्मिलित एउटा सामाजिक संस्था हो । नेपालमा रहँदा जो जनताको बहुदलीय जनवादप्रति आस्था राख्ने व्यक्ति हुनुहुन्छ, उहाँहरु सम्मिलित भएको संस्था हो । एउटै विचार भएका साथीहरुको जमघट हुनुपर्छ भन्ने उद्देश्यले हामीले यो समाजिक संस्था गठन गरेका हौं । हामीले यहाँ कुनै पनि राजनीतिक गतिविधि गर्दैनौं । नेपालबाट आउने नेतृत्व तहका साथीहरुसँग बहस अन्तरक्रिया गर्छौं ।

त्यसो हो भने यसलाई किन एमालेको प्रवासी संगठन नभन्ने ?
हामीले कुनै पनि राजनीतिक गतिविधि गर्दैनौं । एउटै विचारधारा बोक्ने साथीहरुको जमघट यो संस्थामा छ । हो, हामी बहुदलीय जनवादप्रति आस्था राख्ने साथीहरु यो सामाजिक संस्थामा सम्मिलित छौं ।
दोश्रो अधिवेशनले सहमतिमा नेतृत्व चयन गर्ने सम्भावना देखिएन नि ?
प्रयास त हाम्रो सहमतिबाटै नेतृत्व चयन गर्ने हो, यो प्रयास अहिले पनि जारी छ । धेरै साथीहरु इच्छुक हुनुहुन्छ । यो प्रजातान्त्रिक अभ्यास पनि हो । मलाई आशा छ अधिवेशनको हलमा सहमतिको ताली बज्नेछ । 

कतै यो एमाले भित्रको आन्तरिक गटबन्दीको प्रभाव त होइन ?
होइन, यहाँ हाम्रो संस्थामा कुनै पनि गटबन्दी छैन । सहमतिको प्रयास जारी छ । हामीले प्रयास गरिरहेका छौं । तीन वर्षसम्म संस्थामा रहँदा म हरेक गतिविधिमा संलग्न भएँ । अहिले पनि मैले यो संस्थालाई सहमतिबाट नेतृत्व प्रदान गर्नुपर्छ भन्ने पक्षमा लागेको छु ।