विचार

जागौ मगरहरु

बास्तबिक गैर आवासीय (एन.आर.एन.) हामी हौ |

आदिम कालदेखिको गैर आवासीय (एन.आर.एन.) हामी हौ |

 

कतिपय कुराहरु झट्ट सुन्दा अपत्यारिलो लाग्छ | तर गहन रुपमा अध्ययन र विश्लेषण गरियो भने त्यहि अपत्यारिलो बिषय बास्तबिकता हुन जान्छ | मैले यतिबेला अमेरिकामा चर्चामा रहेको गैर आवासीय नेपाली (एन.आर.एन) संग मेरो आफ्नै मगर समुदायलाई जोड्न र विश्लेषण गर्न चाँहे | भलै, नेपालको धेरै अरु समुदायको पनि यस्तै मिल्दो जुल्दो बहसको बिषय हुन सक्छ | जसलाई मैले अमेरिकाको समग्र नेपालीहरु माझ चर्चा र बहसको बिषय संग आफ्नो समुदायलाई सु-सुचित गराउनु पर्ने दायित्वबोध पनि गरेको छु |

 

गैर आवासीय  भन्नाले आफु जन्मीएको, हुर्कीएको ठाउ छाडेर अथवा आफ्नो समुदाय र थाकथलो छाडेर नया समुदाय र परिवेशमा बसोबास गर्ने या गर्नु परेको अवस्थालाई भनिन्छ र बुझिन्छ | यसैको बृहत र बिकसित परिवेश अनुसार नेपाल भन्दा बाहिर बस्नु परेको या बसेको नेपालीहरुलाई गैर आवासीय नेपाली छोटकरीमा एन.आर.एन भनेर परिभाषित गरिदै आएको छ | जसलाई नेपाल सरकारले अझ दक्षिण एशियाली राष्ट्र भन्दा बाहेक अरु राष्ट्रमा  छ महिना भन्दा बढी कुनै पनि कारणले बसोबास गरेका नेपालीहरुलाई गैर आवासीय नेपालीको रुपमा परिभाषित गरेको छ |

 

यी माथिको परिभाषाहरुलाई आधार मानेर हामी मगरहरुले हाम्रो पुर्खौली ईतिहासलाई विश्लेषण गरिउ  भने हाम्रो पुर्खा देखि हाम्रो पुस्ता सम्म विभिन्न गैर आवासीय परिवेशहरु पार गर्दै बर्तमान परिभाषित गैर आवासीय नेपालीको रुपमा विश्वमा छरिएर रहेको प्रमाणित हुन्छ | जसलाई हामीले देश भित्रै गैर आवासीय बनेर बस्नु परेको अवस्था र देश बाहिर रहेर गैर आवासीय नेपाली हुनु परेको अवस्थाको रुपमा बुझ्न सक्छौ |

 

सन् १७६०औ को दसकबाट शाह बंशीय राज्य बिस्तार, बिशेष गरेर प्रिथ्बी नारायणबाट नेपाल एकीकरण र निर्माणको नाममा सानो सानो सास्कृतिक राज्यहरु माथि आक्रमण गरि आफ्नो शासन र सेना बिस्तार गर्ने कार्यमा मगर समुदायलाई बिशेष रुपमा प्रयोग गरिएको पाईन्छ | तात्कालिन शाह बंशीय सासकहरुले जुन जुन सास्कृतिक राज्यहरुमा आक्रमण गरे त्यहाँ सोझा मगर समुदाय र मगर सेनाको बृहत रुपमा प्रयोग गरेका थिए  | यसरी आक्रमण गरि सके पछि त्यहाँको  समुदायले पु:न बिद्रोह गर्न सक्ने सम्भावनालाई न्यून गर्न जित्दै गएका  राज्यहरुमा मगर समुदायको स्थानान्तर गर्दै बस्ति बसालिएको थियो | जसको प्रमाण आजको दिनमा पनि नेपालको ७५ वटानै जिल्लाहरुमा र त्यसमा पनि माझ किरांत, ताम्सालिङ्ग र लिम्बुवानको बाक्लो बस्तीको बिचमा पनि मगर बस्तीहरु हुनुले यो पुस्टि गर्दछ | यो क्रम सन् १८१५ मा ब्रिटिश ईस्ट ईन्डिया कम्पनि र नेपाल बीच भएको सुगौली  सन्धि अघिको नेपाली भू-भाग जुन अहिले भारतमा पर्छ त्यहाँ सम्म फैलिएको पाईन्छ | जहाँ अहिले पनि नेपाली भाषी मगर समुदायको बाक्लो बस्ति रहेको तपाई हामीले पुस्टि गरि रहनु पर्ने कुरा हैन | यसरी हाम्रो पुर्खाहरु आज भन्दा २५० वर्ष अघि देखि योद्धा बनाएर र षड्यन्त्र पुर्बक राज्य सुरक्षाको लागि नयाँ नयाँ  ठाउहरुमा बसाई सर्दै नयाँ  बस्ति बस्नु परेको अवस्थालाई अहिलेको परिभाषा अनुसार पनि सताब्दियौ अघि देखि आफ्नै देश भित्र चरण चरणमा हाम्रो पुर्खाहरु गैर आवासीय बनेर बस्नु परेको बाध्यतालाई मैले यहाँ आदिम काल देखिको गैर आवासिय समुदाय हामी मगरहरु हौ भनेर ब्याख्या गरे | यो बिषय तपाई हामी सम्पूर्ण मगर समुदाय नेपाली र तमाम नेपालीहरुले बहस र विश्लेषण गर्नु जरुरी छ |

 

जब सन् १८१५ मा नेपालको तर्फबाट राजगुरु श्री गजराज मिश्र र श्री चन्द्र शेखर उपाध्यायले सुगौली सन्धिमा हस्ताक्षर गरे, तेत्तिबेला अघिल्लो दिन नेपाली बनेर सुतेका हाल सुगौली सन्धि पछि भारतमा परेका भू-भागका नेपालीहरु बिहान उठ्दा खेरि भारतीय बनेर गैर आवासिय नेपाली बनि सकेका थिए | आज हामी विदेशीले शासन गर्न नसकेको देश नेपालको हामी नागरिक  हौ भनेर खोक्रो राष्ट्रवादको गर्ब गरिरहेको बेला हामी कल्पना पनि गर्दैनौ सुतेर उठ्दा भारतीय (बिदेशी) बनेका तमाम नेपाली पुर्खाको ब्यथा | आज पनि यसै प्रमुख कारणले गर्दा नेपाल सरकारले दक्षिण एशियाली राष्ट्र भन्दा बाहिर बसेका नेपालीलाई मात्र गैर आवासिय नेपाली भनेर परिभाषित गरेको कुरा पुस्टि गर्नु पर्ने आधार हुन सक्छ |

 

यसरी आन्तरिक गैर आवासीय  हुनु पर्ने बाध्यता सुगौली सन्धिमा अन्त्य भै गैर आवासीयमा नेपाली थपिएर गैर आवासीय  नेपालीको कथा सुरु हुन्छ | शाह बंशीय शासनकाल नेपालको धेरै भाग गुमाउदै सुगौली सन्धिमा आई पुग्दा तात्कालिन शासकहरुलाई अब यी सोझा र लडाकु मगर युवाहरुबाट भविष्यमा आफ्नो राज्यको विरुध्दमा हुन सक्ने बिद्रोहलाई मध्येनजर गरिएन भने राज्यको लागि यी समुदाय खतरा हुन्छ भन्ने धर्म संकट शाही शासकले बुझेका थिए | त्यसैले सुगौली सन्धिमै यी लाडाकु जातिलाई ब्रिटिश सेनामा पठाउने सम्झौता गरियो | सोहि सम्झौता ब्रिटिश ईस्ट ईन्डिया कम्पनि र शाही शासकको प्रतिनिधिहरु बीच हस्ताक्षर भए पछि बहुसंख्यक मगर, आदिवासीहरु र अरु नेपाली सेनालाई भारत स्थितको ब्रिटिश सेनामा समाबेश गरिएको थीइयो | सोहि सम्झौताकै आधारमा अहिले सम्म पनि ब्रिटिश सेनामा आदिवासी जनजाति युवाहरु नेपालबाटनै भर्ति गराईन्छ | अस्ति सन् २०१५ मा मात्रै ब्रिटिश सेनामा गोर्खालीहरुको २००औ बर्षगांठ नेपालको स्याङजा जिल्लामा ब्रिटिश आर्मी जनरलको उपस्थितिमा मनाईयो |

 

नेपालीहरु मध्ये बिशेष गरेर सोझा मगर समुदाय र आदिवासी जनजाति युवाहरुलाई बिशेष प्राथमिकताको साथ ब्रिटिश ईस्ट ईन्डिया कम्पनीको सेनामा भर्ति गरि सके पछि सन् १८२४ देखि ब्रिटिशहरुले विभिन्न चरणमा आक्रमण गर्दै सन् १९४८ सम्म बर्मामा आफ्नो उपनिवेशको रुपमा शासन गरेका थिए |  त्यस बखत भएका पहिलो, दोस्रो र तेस्रो "एङ्ग्लो बर्मिज युध्द" र जापान संग भएको दोस्रो विश्व युध्दमा मृत्वु हुने नेपालीहरुको एकिन तथ्यांक ब्रिटिश सरकार र नेपाल सरकार संग नभए पनि तेती बेलाको युध्द शैलीलाई अध्यन गर्दा ५०औ हजार नेपालीहरु मृत्वु र हजारौ अंग भंग तथा युध्द बन्दि भएको अनुमान गरिन्छ | जसमा नेपालको सतप्रतिशत आदिवासी जनजाति र त्यसमा पनि बहुसंख्यक मगर समुदायको सहभागिता थियो | यसरी तात्कालिन शाह वंशीय शासकहरुले ब्रिटिश संग सम्झौता गरेको "सुगौली सन्धि" को कारण तपाई हामी मगर समुदायको हजारौ पुर्खाहरुको बिदेशी भूमिमा सयौ वर्ष अघाडी देखि  ज्यान गुमाउनु परेको थियो,  युध्द बन्दि हुनु परेको थियो | त्यो समय देखि आफ्नो शाखा सन्तान र देश देखि छुटिएर बस्नु बाध्य हुनु परेको थियो | त्यो समयमा आजको जस्तो नेपाली नागरिकता प्रमाणपत्र वितरण प्रणाली थिएन | त्यसैले आज सम्म पनि बर्मा, भारत, थाईलेन्ड र मलेसियाको समेत विभिन्न ठाउमा तेत्ति बेला देखि छोडिएको र बसोबास गर्दै आएका तपाई हाम्रो १०औ लाख नेपालीहरु नेपाल फर्किनु सक्नु भएन र आज पनि वहाहरु नेपाली भाषी भएर रहंदा रहँदै पनि गैर आवासीय नेपाली हुन बाट बन्चित हुनु हुन्छ | 

 

"त्यसैले म भन्छु हामी बिगत १०-२० बर्ष देखि यताका मात्रै गैर आवासिय नेपाली हैनौ | हामीलाई  सदियौ देखि, सयौ बर्ष अघि देखि, परापुर्ब काल देखि अथवा आदिम कालदेखि देशमै बसेर पनि गैर आवासीय हुन बाध्य बनाईयो | देश बाहिर बस्दा पनि गैर आवासीय नपाली हुन बाध्य भईयो | तेसैले हामी बिशेष गरेर मगर समुदाय बास्तबिक गैर आवासीय हौ |  आदिम कालदेखिको गैर आवासीय हौ |"

 

हाम्रो समुदायले पुर्खाको रगत र बलिदानको सम्मानको लागि पनि विश्वको कुनै पनि गैर आवासिय नेपाली संघको सदस्य बन्नु पर्छ | यो सस्थालाई गैर राजनीतिक, स्वच्छ र सबैको साझा संस्था बनाउन पुर्खाले बलिदान दिए जस्तै तपाई हामीले हाम्रो तर्फबाट सक्दो पहल गर्नु पर्छ | यो कुनै एउटा राष्ट्रमा क्रियाशील संस्थाको मात्र कुरा हैन | एउटा एन.आर.एन. एन.सी.सी. मात्र स्वतन्त्र, स्वच्छ र सक्षम भयो र गैर आवासीय नेपालीको पक्षमा सशक्त आवाज उठाउदा स्थापित/प्राप्त  हुने अधिकार विश्व भरिका सम्पूर्ण गैर आवासिय नेपालीको लागि हुने छ |

 

हामी मगर समुदाय, हामी आदिवासी जनजातिहरु विभिन्न समय र परिश्थिति बाट देश भित्रैको गैर आवासीय र देश बाहिर हुँदाको गैर आवासिय नेपाली हुनु परेको कारणले गैर आवासीय अधिकार प्राप्त हुँदा तपाई हाम्रै बहुसंख्यक समुदायलाई सहज हुने छ | तपाई हामीले तत्काल हाम्रो प्रतिनिधि नेतृत्वमा पठाउन  सकेनौ भने पनि गैर राजीनितिक, स्वतन्त्र र सक्षम व्यक्तित्वलाई तपाई हाम्रो नेतृत्व सुम्पन पाउनेछौ |

 

त्यसैले आदरणीय मगर समुदाय ! तपाई हामी पनि आजै एन.आर.एन. अमेरिकाको सदस्यता लिउ | नेपाल सरकारले पनि नया संविधानको नागरिकता सम्बन्धि धारामा  "गैर आवासीय नागरिकता जारि गर्न सकिने" भन्ने अस्पस्ट सैलिमा  उल्लेख गरेको छ | यसलाई तपाई हाम्रो जोडदार पहलले मात्र "नेपाली नागरिकताको निरन्तरता" अथवा "एक पटकको नेपाली-सधैको नेपाली" बनाउन सक्ने छौ | यसो गर्न सकियो भने मात्र पुर्खाको लागि सहि सम्मान र श्रध्दान्जली हुनेछ भन्ने मेरो आफ्नो बुझाई छ |

 

झोर्ले तथा आदिवासी अभिबादन

मान बहादुर रानामगर

न्युयोर्क