विचार

कठिन यात्रामा ट्रम्प

शैलेष श्रेष्ठ, न्यूयोर्क

ट्रम्प शासनकाल अनुदारबादी रंगभेदी स्वेत सर्बोच्चतासहितको अनुदारबादी राज्य ब्यबस्थाका रुपमा विचार, योजना अनि नियतहरुमा समेत निर्लिप्त दायाँ फर्किएको छ । बिगत आठ वर्षदेखि राष्ट्रपति ओबामाले अङ्गीकार गरिरहेका उदार नीति र कार्यक्रमहरु अहिले पूर्णरुपमा धरासायी बनेका छन । ओबामाले आफ्नो सिग्नेचर राजनैतिक उपलब्धि मानी आएका आएको अफोर्डेबल हेल्थ केयर एक्ट अर्थात ओबामा केयरको भविष्य पूर्णरुपमै अनिश्चित भएको छ भने उनका आप्रवासनसम्बन्धी सम्पूर्ण योजनाहरुलाई पत्तासाफ गर्न ट्रम्प र उनको अनुदारबादी प्रशासन लागि परेको छ । 

निर्वाचनको बेला कबुल गरेको बाचा पुरा गर्ने नाउँमा अथवा बोलेको कुरा पु¥याउने व्यक्ति बन्ने धुनमा उनी अहिले आप्रवासीहरु प्रति कठोर, अनुदार, निष्ठुरी र निर्दयी बनेर प्रस्तुत हुन थालेका छन । तथापि यथार्थ उनले भनको या सोंचेको जस्तो सजिलो छैन । अमेरिकी शासकीय प्रणाली र राज्य सञ्चालन प्रणालीमा हामीले बुझ्नु पर्ने सत्य के हो भने यहाँ सम्मानित अनि स्वतन्त्र न्यायालय अनि स्वाधीन जन निर्वाचित दुई सार्बभौम सदनहरु छन जसले व्यक्तिलाई तानाशाह अनि अधिनायक हुनबाट रोक्ने गर्दछ ।     
‘फुटाउ अनि राज्य गर’को अधिनायकबादी एकात्मक शासन प्रणालीको युग पनि अब यो वर्तमान विश्वमा क्रमशः समाप्त हुँदैछ । ‘आईडोलोजी’ अनि ‘डोकट्रिन’को पुरातानिक राजनैतिक खेति पनि निरन्तर धरापमा पर्दैछ । पुरातानिक कित्ताकै पक्षपोषण गरेर जित्ने भए रिपब्लिकन पार्टीका पुराना बादशाह अनि संस्थापनले बाजी मार्ने थिए, न जी.ओ.पी. संस्थापनका प्रिय जेव बुशहरुले प्राईमरीकै चरणमा सर्मनाक किसिमको हार बेहोर्नु पर्ने थियो न त नयाँ बादशाह डोनाल्ड ट्रम्पको उदय हुन्थ्यो । न बलियो मानिएको अनि ठानिएको डेमोक्रेटिक संस्थापनका हिलारी क्लिन्टनहरुको यो हालत अनि हबिगत हुने थियो न त बर्नी सान्डर्सहरुको स्वःस्फुर्त उदय नै हुने थियो ।

 अब समग्रमा ‘ईस्यु बेस’ राजनीतिले विश्वका चेतनशील स्वाधीन अनि स्वतन्त्र मानिसलाई निर्देशित गर्ने सम्भावना तिब्र भएको छ । 
हेर्दा हेर्दै ‘मिडिया अमेरिकी जनताका शत्रु हुन’ भनेर कुर्लने ट्रम्पको बोली केहि दिनमै मत्थर भयो भने एघार मिलियन कागजपत्रबिहीन आप्रवासीलाई देश निकाला गर्छु भनेर ‘स्वेत बस्ती’ का अनुदारबादीहरुलाई उचाल्ने हाम्रा राष्ट्रपति ईमिग्रेशन एण्ड कस्टम एम्फोर्समेन्ट (आईस) मार्फत केहि सय आप्रवासीहरुलाई धडपकड गरेको केहि दिन अनि घण्टाहरुमा यथार्थको धरातलमा ओर्लिए अनि भन्न बाध्य भए ‘अब अमेरिकी दुवै सदनलाई मान्य हुने सर्वथा न्यायोचित आप्रवासी बिधेयक ल्याएर स्थायी समाधान खोज्ने छु’ अझ एक कदम अगाडि बढेर उनले भने ‘अपराधिक क्रियाकलापमा संलग्न नभएका कागजपत्रबिहिनले यस्तो प्रक्रियामा सामेल हुन आफ्नो देश फर्कनु पर्ने छैन ।’ 
उनले म्यारीट बेसमा आधारित क्यानाडाको जस्तो बैधानिक आप्रवासनको पक्षपोषण गर्दै त्यस्तै सारको प्रस्ताब अगाडि लैजाने संकेतसमेत गरे । 
अनुदारबादी क्षेत्र र बस्तीका आप्रवासन बिरोधी आफ्ना मतदाताहरुलाई खुसी पार्न राष्ट्रपति ट्रम्पले उनका पूर्ववर्ती राष्ट्रपति ओबामाले जारी गरेको डाका कार्यक्रमअन्तर्गत लाभान्वित करिब सात सय पचास हजार ड्रीमर (सानै उमेरमा अमेरिका ल्याईएका कागजपत्रबिहीन माईनर) हरुको सुबिधा रद्द गर्ने अहम बोल्दै आएका उनले अहिले पछिल्लो अवस्थामा उनीहरुप्रति सहानुभूति पूर्वक ‘गोहीको आँशु’ झार्दै उनीहरुलाई देश निकाला नगर्ने बरु अरु दुई वर्षको लागि उनीहरुले पाई आएको सुबिधा नविकरण गर्ने समेत बताएका छन । दिनहँु जसो फलानो ठाउँमा कागज नभएका आप्रवासीहरुलाई आईसले यति जनालाई गिरफ्तार गर्यो, काम गर्ने ठाउँमा छापा मा¥यो, डिपोर्ट ग¥यो आदि इत्यादीका प्रायोजित हल्ला अत्याधिक रुचीका साथ सम्प्रेषण गर्ने हाम्रा नेपाली कानुन ब्यबसायीहरु राष्ट्रपति ट्रम्पको सम्बोधनपछि चुँईक्क बोलेका छैनन् अनि दुई लाईनसम्म पनि लेखेका छैनन् । 
अहिले हाम्रा मान्छेहरु नियम कानुन मिच्ने आफ्नै नेपालीपाराका बानी व्यहोराहरुका कारण डराएका छन । बनको बाघले नखाए पनि अहिले उनीहरुलाई मनको बाघले खान थालेको छ । अझ प्रायोजित हल्ला फैलाएर ‘तर्साउ अनि कमाउ’को शुत्रमा ब्यापार गर्नेहरुका अनैतिक अनि अमानवीय हर्कतले पीडा अनि त्रासमा रहेका हाम्रा मान्छेहरुको घाउमा नुन अमिलो छर्कने काम गरेको छ । अब हामी सामाजिक अभियन्ता, समाजका अगुवाहरु, सञ्चारकर्मीहरु अनि कानुनविद्हरुले त उनीहरुलाई ‘नबिराउ नडराउ’ भनेर आस्वस्त पार्न सक्नु पर्दछ तर प्रवासदेखि नेपालसम्म खुच्चिङ्ग प्रवृति बढेर गएको छ । 
भनाई नै छ ‘दशा बाजा बजाएर आउँदैन’, त्यसको अर्थ हो यो विपद् अनि अप्ठेरोमा हामीले उच्चतम साबधानी भने पक्कै अपनाउनु पर्ने हुन्छ । कहीँ कतै संघीय सुरक्षाकर्मी अथवा आईसको जाँच पड्तालमा परि हालियो भने सकभर आफूले केहि जवाफ नदिने र कानुनी सल्लाहकारको उचित परामर्श लिने काम गर्नु उचित हुन्छ । यदि तपाई ‘स्याङ्कचुरी सिटी’को अबधारणा भएको न्यूयोर्क, लस एन्जेलस, सिकागोजस्ता डेमोक्रेटिकहरुको बाहुल्य रहेको  प्रगतिशील सहरमा हुनुहुन्छ भने उक्त सहर या राज्यले त्यस्तो सम्भावित घटनाहरुबाट बच्ने उपायहरुका बारेका तपाईलाई आवश्यक सूचना, कक्षा र परामर्श समेत दिने गर्दछ । 
गहुँ पिस्दा घुन पिसिए जस्तै अपराधिक गतिबिधिमा लागेकाहरुलाई गिरफ्तार गरेर देश निकाला गर्ने प्राथमिकता हुँदा हुँदै पनि केहि अबोध अनि निरपराध आप्रवासीहरु निशाना बन्ने गरेका छन । यदि आफू त्यस्तो गिरफ्तारीमा परेमा तत्काल आफ्नो सम्पर्क अनि सम्बन्धमा रहेको कानुन ब्यबसायीसँग सम्पर्क गर्नु उचित हुन्छ । अथवा आफ्नो क्षेत्र अथवा सहरमा रहेको अमेरिकन सिभिल लिबर्टी यूनियनमा सम्पर्क गर्नु भयो भने पनि उक्त संस्थाले निःशुल्क कानुनी परामर्शको ब्यबस्था गरिदिन्छ ।             
एउटा सत्य चाँही के हो भने यो राजनैतिक याम अनि तापमान आप्रवासीमैत्री चाँही पटक्कै छैन त्यस अर्थमा तपार्इंले अतिरिक्त साबधानी अनि होसियारी अपनाउनु उचित हुन्छ । आखीर राजनीति कुमालेको चक्र जस्तै हो र यो विषम् परिस्थिति नितान्त अस्थायी स्वभाबको हो । आप्रवासीहरुको देश भनेर बुझिने अनि जानिने संयुक्त राज्य अमेरिका यो अधिनायकबादी ढर्रामा लामो समय चल्न सक्दैन । यो कुमालेको चक्र चेतनशील, स्वाधीन, शिक्षित अनि उदार जनता र तिनको अभिमतकै कारणले पुनः दायाँबाट बायाँ फर्कन बाध्य हुनेछ ।
 Email: info@sampreshan.org