कला-साहित्य

नजिस्कनु...

नजिस्कनु

फूलसित नखेल्नु 
काँडा बनी घोच्न बेर लाउँदैन 
रोपेर हुर्काएर के भयो

नजिस्कनु
सर्पसित नचल्नु
रिसाएपछि डस्नपछि पर्दैन 
दूध खुवाएर के भयो
नजिस्कनु 
केटाकेटिसँग नइत्रिनु 
ढुङ्गा टिपेर हान्न पछि पर्दैन 
मिठाई दिएर के भयो
नजिस्कनु 
खोलासित नखेल्नु 
भेलबाढी उर्लिएर बगाउन सक्छ
सुन्दर देखिएर के भयो
भन्दथे बुढापाकाहरु 
हो साँच्चै रहेछ
अन्तत
मलाई फूलदेखि डर लाग्न थालेको छ
मलाई सर्पदेखि दिकदिक लाग्दछ
मलाई बच्चादेखि टाढा बस्नु छ
मलाई खोला तर्न डर लाग्छ
जिन्दगीको चौतारिमा 
मलाई त्यस्तो बैगुनी मान्छे भेट्न छैन 
यस्तो बेशर्म मान्छे देख्न छैन 
मलाई यस्तो आडम्बरी मान्छेसँग 
हातेमौलो गर्न शोख छैन 
किनकी 
सुरुवातमा उ फूल जस्तै सुन्दर
अनि सर्प जस्तै सुरो,
तर, बच्चा जस्तै अज्ञान भएर
खोला जस्तै 
निस्ठुरी बन्दोरहेछ 
निर्मोही हुँदोरहेछ
अबदेखि
म पनि भन्ने गर्छु
नजिस्कनु
फूलसित नखेल्नु 
काँडा बनेर घोच्न बेर छैन 
रोपेर हुर्काए के भयो ।

- दिलीप राई ‘सगर’ मोरङ 
हालः मलेसिया